logo
  • २०८३ जेष्ठ १८ | Mon, 01 Jun 2026
  • सिरहामा वडाध्यक्षमाथि कारबाहीको माग गर्दै जनमत पार्टीद्वारा ज्ञापनपत्र

    सिरहामा वडाध्यक्षमाथि कारबाहीको माग गर्दै जनमत पार्टीद्वारा ज्ञापनपत्र

    सिरहा, वैशाख २९ — जनमत पार्टी सिरहा जिल्ला समितिले औरही गाउँपालिका–३ का वडाध्यक्ष जीवछ यादवलाई पदबाट निलम्बन गरी घटनामा संलग्न अन्य व्यक्तिमाथि समेत कानुनी कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको छ।
    पार्टीका जिल्ला अध्यक्ष पंकज कुमार सिंहको हस्ताक्षर रहेको ज्ञापनपत्र सोमबार प्रमुख जिल्ला अधिकारीसमक्ष बुझाइएको हो। ज्ञापनपत्रमा औरही गाउँपालिका–३ मा निजी जग्गामा जबरजस्ती सडक निर्माण गर्ने क्रममा स्थानीय वीरेन्द्र साहलाई रुखमा बाँधेर कुटपिट गरिएको तथा अन्य स्थानीय गीता देवी ठाकुर, मनोज कुमार साह र उनका परिवारका सदस्यहरूमाथि समेत अमानवीय व्यवहार गरिएको आरोप उल्लेख गरिएको छ।
    जनमत पार्टीले सञ्चारमाध्यम तथा सार्वजनिक भएका भिडियोहरूमा वडाध्यक्ष जीवछ यादवसहितको समूहले स्थानीय नागरिकमाथि गैरकानुनी र मानवअधिकारविपरीत व्यवहार गरेको देखिएको जनाएको छ। ज्ञापनपत्रमा निजी सम्पत्तिमाथि जबरजस्ती अतिक्रमण गर्ने, विरोध गर्ने नागरिकलाई रुखमा बाँध्ने, कुटपिट गर्ने तथा आतंकित बनाउने कार्य लोकतान्त्रिक व्यवस्था, नेपालको संविधान र कानुनविपरीत रहेको उल्लेख गरिएको छ।


    पार्टीले जनप्रतिनिधिबाट भएको भनिएको यस्तो घटनालाई “अमानवीय, निन्दनीय र दण्डनीय” भन्दै घटनामा संलग्न वडाध्यक्ष तथा अन्य दोषीमाथि तत्काल निष्पक्ष छानबिन गरी प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न माग गरेको छ।
    त्यस्तै, पीडित परिवारलाई सुरक्षा र न्याय सुनिश्चित गर्न तथा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्न पनि प्रशासनसँग माग गरिएको छ।
    ज्ञापनपत्र बुझाउने क्रममा जनमत पार्टीका जिल्ला अध्यक्ष पंकज कुमार सिंहसहितका नेताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८३ बैशाख २९, मंगलवार १३:५९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP