विश्वभर मानव अधिकारको निगरानी गर्ने ह्यूमन राइट्स वाचले भदौ २३ को जेनजी प्रदर्शनमा सुरक्षाका अंगले अपनाएको बल प्रयोगलाई अत्यधिक र नियन्त्रणहीन भनेको छ। संस्थाले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले करिब तीन घण्टा निरन्तर गोली चलाएको घटनालाई सोझै प्राणघातक प्रहारको रूपमा मूल्यांकन गरेको छ।
प्रतिवेदनका अनुसार सुरक्षाकर्मीले भीड नियन्त्रणको मानक प्रक्रिया नअपनाई बारम्बार गोली हानेको र भिड हुने ठाउँतिर अन्धाधुन्ध फायरिङ गरेको तथ्य देखिन्छ। संस्थाले यस्तो प्रवृत्ति राज्यका संयन्त्रप्रति गम्भीर प्रश्न उठाउने विषय भएको टिप्पणी गरेको छ।
ह्यूमन राइट्स वाचले हिंसापछि देखिएको आगजनी र लुटपाटमा जेनजी आन्दोलनसँग सम्बन्धित नभएका समूह पनि मिसिएको उल्लेख गरेको छ। तर सुरक्षा संयन्त्रले प्रदर्शनमै केन्द्रित भएर प्राणघातक विकल्प रोज्नु गम्भीर चुक भएको उसले बताएको छ।
संस्थाले घटनापछि गठन गरिएको न्यायिक आयोगले काम पारदर्शी रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ। आयोगले सुरक्षाकर्मीदेखि आगजनी र लुटपाटमा संलग्न सबै पक्षलाई विश्वसनीय रूपमा अनुसन्धान र अभियोजनमा लैजाने क्षमता देखाउनुपर्ने उसको धारणा छ।
ह्यूमन राइट्स वाचले जेनजी आन्दोलनपछि बनेको सरकारले पहिलो र दोस्रो दिनका सबै घटनाको निष्पक्ष छानबिन प्राथमिकतामा राख्नु आवश्यक रहेको भन्दै आयोगको विश्वसनीयता त्यसमै टिको रहने बताएको छ।
प्रतिक्रिया