मौन अवधिको समयमा नगदसहित नियन्त्रणमा लिइएका जनता समाजवादी पार्टी (जसपा) नेपाल का सिरहा–३ का उम्मेदवार अशेश्वर यादवलाई तीन दिनभित्र स्पष्टीकरण दिने सर्तमा रिहा गरिएको छ।
जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार, यादवसहित पक्राउ परेका पाँचै जनालाई लिखित जवाफ पेश गर्न निर्देशन दिँदै हिरासतबाट छाडिएको हो।
उनीहरूलाई गएराति नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडर नाकाबाट ४ लाख ८७ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिइएको थियो। प्रारम्भिक सोधपुछपछि सबैलाई सशर्त रिहा गरिएको अधिकारीहरूले बताएका छन्।
बरामद गरिएको नगद रकम र प्रयोग भएको सवारीसाधन भने हालका लागि नियन्त्रणमै राखिएको छ।
निर्वाचन आचारसंहिताको पालना सुनिश्चित गर्न आयोगले आवश्यक अनुसन्धान अघि बढाउने जनाएको छ।
प्रतिक्रिया