सिरहाको कमला र सप्तरीको कञ्चनपुरसम्मको पूर्व–पश्चिम राजमार्ग सडक विस्तारमा ढिलाइ भएको भन्दै लहान बजारका स्थानीयहरू आन्दोलनरत भएका छन्। उनीहरूले विहानैदेखि सडकमा प्रदर्शन गर्दै आवागमन रोक्दा करिब पाँच किलोमिटर सडकमा सवारी जाम लागेको छ।
स्थानीयहरूले पहिले भएको सडक भत्काएर काम अलपत्र पारेको र निर्माण सामग्री सडकमा छरिएर हिलो, धुलो तथा धुवाँले समस्या सिर्जना गरेको आरोप लगाएका छन्। उनका अनुसार अधुरा संरचना र खाल्डाखुल्डीले दुर्घटनाको जोखिम पनि बढाएको छ।

सन् २०२० मा सुरु गरिएको उक्त सडक विस्तार आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर छ वर्ष बित्न लाग्दा पनि काम अधुरो छ। करिब १५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हालसम्म झण्डै १३ अर्ब रुपैयाँ भुक्तानी भइसकेको भए पनि स्थानीयले भौतिक प्रगति सन्तोषजनक नभएको गुनासो गरेका छन्।
निर्माण कम्पनी चाइना रेल्वे इन्जिनियरिङ ग्रुपले दुई पटक म्याद थप गरिसकेको छ भने तेस्रो पटक थपिएको समयसीमा आगामी जुनमा सकिँदैछ। आन्दोलनकारीहरूले तत्काल धुलो नियन्त्रण, सडकको उचित व्यवस्थापन र निर्माण कार्य तीव्र बनाउन माग गरेका छन्।
सडक अवरुद्ध भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समस्या समाधानका लागि पहल थालेका छन्। उनले ईलाका प्रशासन र प्रहरी परिचालन गरी सडक खुलाउने र वार्ता गर्ने कार्य भइरहेको बताए।
प्रतिक्रिया