सिरहा नगरपालिकामा कार्यरत एक कर्मचारीमाथि नगर प्रमुखले कुटपिट गरेपछि अवस्था तनावग्रस्त बनेको छ । घटनापछि आक्रोशित कर्मचारीहरूले दोषीमाथि तत्काल पक्राउ र कडा कानुनी कारबाहीको माग गर्दै कार्यालयमा तालाबन्दी गरेका छन् ।
चैत २३ गते नगर प्रमुख डा. नवीन कुमार यादवले स्वास्थ्य शाखामा कार्यरत कार्यालय सहयोगी राम शरण यादवमाथि कुटपिट गरेको घटना सार्वजनिक भएको हो ।
कर्मचारीहरूले उक्त कार्यलाई अमानवीय, गैरकानुनी र निन्दनीय भन्दै कडा विरोध जनाएका छन् ।
कर्मचारीहरूद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएअनुसार, एक जिम्मेवार जनप्रतिनिधिबाट आफ्नै कर्मचारीमाथि गरिएको यस्तो व्यवहारले समग्र कर्मचारीहरू असुरक्षित बनेका छन् । उनीहरूले घटनालाई गम्भीर रूपमा लिँदै दोषीलाई तुरुन्तै पक्राउ गर्नुपर्ने बताएका छन् ।
घटनापछि कर्मचारीहरूले चैत २४ गतेदेखि सिरहा नगरपालिकाका सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गर्दै आन्दोलन सुरु गरेका छन् । उनीहरूले न्याय नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
कर्मचारीहरूको मुख्य मागमा पीडित राम शरण यादवको निःशुल्क उपचार र उचित क्षतिपूर्ति, नगर प्रमुखमाथि कानुनअनुसार कारबाही तथा कार्यस्थलमा सुरक्षाको सुनिश्चितता रहेका छन् ।
यसैबीच, उनीहरूले सम्पूर्ण सरकारी निकाय, नागरिक समाज र सरोकारवालालाई आन्दोलनमा ऐक्यबद्धता जनाउन अपिल गरेका छन् ।
प्रतिक्रिया