मधेश प्रदेशमा सम्पन्न राष्ट्रिय सभा निर्वाचनका चारै सिटमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालको गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्।
महिला क्लस्टरतर्फ नेकपा एमालेकी उम्मेदवार रेखा झा निर्वाचित भएकी छन्। उनले ७ हजार २ सय २२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपाकी शमीकुमारी अग्रवालले १ हजार ९ सय ४४ मतमा सीमित भइन्।
अल्पसंख्यक क्लस्टरमा नेपाली कांग्रेसका रञ्जित कर्ण विजयी भए। कर्णले ८ हजार ९३ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार रामनन्दन प्रसादले १ हजार ३ सय ६१ मत पाए।
यस्तै, खुला तर्फ जसपा नेपालका वरिष्ठ नेता महन्थ ठाकुर ७ हजार ७ सय २५ मतसहित विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी नेकपाका लक्ष्मण पौडेलले १ हजार ८ सय ५ मत प्राप्त गरे।
दलित क्लस्टरतर्फ पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसका धर्मेन्द्र पासवानले ७ हजार ९ सय ४ मत ल्याएर जित हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेकपाका रामानन्द प्रसादले १ हजार ३ सय ७६ मत प्राप्त गरे।
यससँगै मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा सत्तारूढ गठबन्धनले सबै क्लस्टरमा स्पष्ट बहुमतसहित सफलता हासिल गरेको छ।
प्रतिक्रिया