नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
स्रोतका अनुसार खड्कामाथि लैनचौरस्थित नेपाल स्काउटको जग्गा विवादसँग जोडिएको विषयमा समेत अनुसन्धान भइरहेको छ। उक्त जग्गा प्रकरणमा अनियमितता भएको आशंकामा विभिन्न कोणबाट छानबिन जारी रहेको बताइएको छ।
यसअघि जेनजी आन्दोलनका क्रममा खड्काको निवासमा आगजनी भएको थियो। त्यस घटनापछि ‘घरबाट पैसा उडेको’ भन्ने दाबी सहितको एक भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो। सोही भिडियो र त्यससँग सम्बन्धित दाबीबारे पनि अनुसन्धान भइरहेको जनाइएको छ। स्रोतहरूले अनुसन्धानको दायरा फराकिलो बनाइएको र आवश्यक प्रमाण संकलन भइरहेको बताएका छन्।
प्रहरीले खड्कामाथि लागेको आरोपबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
प्रतिक्रिया