टिकटकमा एकअर्काको धर्म र संस्कृतिलाई लक्षित गर्दै अभद्र टिप्पणी गरिएको विषयलाई लिएर मधेश प्रदेशमा तनावको अवस्था सिर्जना भएको छ। धनुषामा सुरु भएको विवादको असर पर्साको वीरगञ्जसम्म फैलिएको छ। परिस्थितिलाई ध्यानमा राख्दै धनुषा र पर्सासहित मधेशका आठै जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ।
एक उच्च सुरक्षा अधिकारीका अनुसार हालको अवस्था ‘संवेदनशील’ रहेकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सुरक्षाकर्मी परिचालन बढाइएको हो। धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा असर पर्न नदिन विशेष निगरानी राखिएको उनले बताए।
केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नाम गरेका दुई युवाले टिकटकमा हिन्दुस्तानको सन्दर्भ जोड्दै भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोले धार्मिक भावनामा चोट पुर्याएको भन्दै स्थानीय अगुवा र समुदायका व्यक्तिहरूले आपत्ति जनाएका थिए। त्यसपछि दुवै युवालाई स्थानीय पहलमा प्रहरीको जिम्मा लगाइएको थियो।
इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल चलिरहेको समयमा उनीहरू पक्राउ गरिएको भन्दै केही युवाहरू आक्रोशित बने। त्यही क्रममा एक मस्जिदमा आक्रमणसमेत भएको थियो। आक्रमणमा संलग्न व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको धनुषा प्रहरीले जनाएको छ।
सोही घटनाको विरोधमा पर्साको वीरगञ्जमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले निष्पक्ष छानबिन र घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्। प्रदर्शन शान्तिपूर्ण रहोस् भन्ने उद्देश्यले वीरगञ्जका संवेदनशील क्षेत्रमा सुरक्षाकर्मी परिचालन बढाइएको छ।
प्रशासनले अफवाह नफैलाउन, सामाजिक सञ्जालमा उत्तेजक सामग्री सेयर नगर्न र संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ। साथै, धार्मिक तथा सामाजिक सद्भाव बिगार्ने कुनै पनि गतिविधिमाथि कडा कारबाही गरिने चेतावनी पनि दिएको छ।
स्थानीय प्रशासनका अनुसार अवस्था नियन्त्रणमै रहेको भए पनि सुरक्षा निकाय उच्च सतर्कतामा छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको र शान्ति कायम राख्न सबै समुदायसँग समन्वय भइरहेको प्रशासनको भनाइ छ।
प्रतिक्रिया