सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन प्रहरी भर्ना खुलाएको छ।
प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग अन्तर्गत भर्ना छनोट शाखाले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी माग गर्दै सूचना जारी गरेको हो। भर्नाका लागि पुस २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म दर्खास्त दिन सकिनेछ। बिदाको दिनमा पनि आवेदन लिइने प्रहरीले जनाएको छ।
इच्छुकले जिल्ला प्रहरी परिसर तथा सबै जिल्ला प्रहरी कार्यालयबाट दर्खास्त दिन सक्नेछन्।

सूचनाअनुसार निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी, पूर्ववन रक्षक तथा पछिल्लो समय विभिन्न सुरक्षा निकायको भर्नामा सहभागी भई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकालाई प्राथमिकता दिइनेछ। यसअघि निर्वाचनमा म्यादी प्रहरीका रूपमा सन्तोषजनक काम गरेका व्यक्ति र विदेशी सुरक्षा निकायबाट सेवा निवृत्त नेपाली नागरिकलाई पनि प्राथमिकतामा राखिनेछ।
प्रतिक्रिया