logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • असफल भइसकेको दुई दिने बिदा पुनः सुरु, सरकारको मितव्ययिताको प्रयास

    असफल भइसकेको दुई दिने बिदा पुनः सुरु, सरकारको मितव्ययिताको प्रयास

    सरकारले इन्धन खपत घटाउने र आर्थिक मितव्ययिता अपनाउने उद्देश्यसहित सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
    सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल का अनुसार पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता तथा बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्न यो कदम चालिएको हो।
    नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्। तर, शैक्षिक संस्थाहरूको हकमा भने यो समय तालिका लागू नहुने स्पष्ट पारिएको छ।
    दुई दिने सार्वजनिक बिदाको अभ्यास नेपालमा नयाँ भने होइन। यसअघि पनि विभिन्न समयमा यस्तो व्यवस्था लागू गर्ने प्रयास गरिए पनि पर्याप्त तयारीको अभाव र सेवा प्रवाहमा देखिएका समस्याका कारण सरकार पछि हट्न बाध्य भएको थियो।
    २०७७ मङ्सिरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले गठन गरेको समितिले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दुई दिने बिदाको सिफारिस गरेको थियो। त्यसपछि २०७९ सालमा केही समय परीक्षणका रूपमा लागू गरिए पनि अन्ततः सरकार एक दिने बिदामै फर्किएको थियो।
    विगतमा असफल भइसकेको यो मोडेललाई फेरि कार्यान्वयनमा ल्याइँदा यसले अपेक्षित रूपमा इन्धन खपत घटाउने, आर्थिक दबाब कम गर्ने र सेवा प्रवाहमा सुधार ल्याउने कि नल्याउने भन्ने विषयमा चासो बढेको छ।
    अब यो निर्णय कत्तिको प्रभावकारी रूपमा कार्यान्वयन हुन्छ र आम जनजीवन तथा अर्थतन्त्रमा यसको प्रभाव कस्तो पर्छ भन्ने कुरा भने आगामी दिनले स्पष्ट पार्नेछ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ चैत्र २२, आईतवार १७:५८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP