ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसहित रहेका कुलमान घिसिङले सम्हालेका मन्त्रालयहरूको जिम्मेवारी अन्य मन्त्रीलाई तोकिएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न मन्त्रीलाई थप जिम्मेवारी प्रदान गर्नुभएको हो। घिसिङले बुधबार साँझ मन्त्री पदबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिएको जानकारी दिएका थिए।
घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। उनको राजीनामापछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ।

यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंलाई र सहरी विकास मन्त्रालयको कार्यभार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री मार इङ्नामलाई तोकिएको छ।
घिसिङको राजीनामासँगै सरकारका महत्वपूर्ण तीन मन्त्रालयको नेतृत्व अस्थायी रूपमा अन्य मन्त्रीमार्फत सञ्चालन हुने भएको छ।
प्रतिक्रिया