सिरहा, । सिरहा जिल्लाको गोलबजार नगरपालिका–८ स्थित श्री जनता नमुना माध्यमिक विद्यालय, चन्द्रलालपुर, चोहर्वामा विद्यालयकै शिक्षकले १३ वर्षमुनिका किशोरीहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएपछि अभिभावक र स्थानीय बासिन्दा आक्रोशित भएका छन्।
विद्यालय परिसरमा नाराबाजी र तोडफोड भएको छ। आक्रोशित अभिभावकहरूले विद्यालय तोडफोड गरेपछि प्रहरीले आरोपित शिक्षक श्रेष्ठलाई पक्राउ गरेको छ। आरोपित शिक्षक हरि श्रेष्ठमाथि यौन दुर्व्यवहारको गम्भीर आरोप लागे पनि विद्यालय प्रशासनले अनुशासनात्मक छानबिनको सट्टा उल्टै आरोपितको संरक्षणमा उभिएको भन्दै प्रधानाध्यापक ब्रह्मदेव प्रसाद सिंह र विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार महतोको भूमिका विवादास्पद बनेको हो।
विद्यालयमा काम गर्ने कर्मचारी र केही विद्यार्थीहरूको भनाइ अनुसार शिक्षक श्रेष्ठले पटक–पटक किशोरीहरूलाई मानसिक तथा शारीरिक रूपमा दुर्व्यवहार गर्दै आएको बताइएको छ।
“शिक्षकबाट नै डराएर पढ्न छाड्नुपर्ने अवस्था आयो,” एक कक्षा ७ मा अध्ययनरत छात्राले नाम नखुलाउने सर्तमा भनिन्।
“छाक पेट काटेर पढाउँछौं, बालिका विद्यालयमै असुरक्षित!”
स्थानीय अभिभावकहरू भन्छन् – “हामी गरिब छौं, तर छोराछोरीको भविष्यका लागि दिनरात खटेर पढाउँछौं। तर शिक्षकबाटै डराउनुपर्ने भयो भने हाम्रो बच्चाहरूको भविष्य कहाँ सुरक्षित हुन्छ?”
उनीहरूले दोषीमाथि कडा कारबाही र विद्यालय प्रशासनमाथि छानबिनको माग गरेका छन्। विद्यालय परिसरमा भएको तोडफोड र प्रदर्शन कुनै योजनाबद्ध तोडफोड नभई, पीडितको पीडाबाट जन्मिएको आक्रोश भएको स्थानीयहरुको भनाइ छ।
विद्यालय प्रशासनको भूमिका प्रश्नवाचक:
आरोप गम्भीर रहे पनि विद्यालयले घटना बाहिर नआओस् भन्ने शैलीमा प्रस्तुत भएको देखिएको छ। प्रधानाध्यापक र अध्यक्षले विद्यालयकै शिक्षकको बचाउ गरेर नैतिक जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाइएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार सिंह भने विद्यालयमा किशोरीहरूमाथि यौन हिंसा नभएको दाबी गर्छन् । घटना सार्वजनिक भइसकेपछि पनि अध्यक्ष सिंह ‘केही शिक्षक र व्यक्तिहरु विद्यालयलाई बदनाम गर्न यस्ता आरोप बाहिर ल्याएको’ भन्दै गैरजिम्मेवार जवाफ दिन्छन् ।
शिक्षा अधिकारकर्मीहरू भन्छन् –बालबालिकाको अधिकार उल्लंघन र शिक्षा क्षेत्रको बदनाम हुनुमा विद्यालय प्रशासन बराबर जिम्मेवार छ।
दोषी शिक्षक, प्रअ र अध्यक्ष तुरुन्त बर्खास्त गर:
स्थानीय समुदाय, अधिकारकर्मी, अभिभावक र विद्यार्थी संगठनहरूले विद्यालय प्रशासनमाथि गहिरो छानबिन र तुरुन्त कारबाही गर्न माग गरेका छन्। विद्यालयको पवित्रता जोगाउन यो प्रकरणमा राज्यको चासो अत्यावश्यक भएको उनीहरूको भनाइ छ।
यदि तुरुन्तै न्यायिक प्रक्रिया अगाडि बढाइएन भने आन्दोलन झनै चर्कन्छ, र यसको सम्पूर्ण जिम्मेवारी विद्यालय प्रशासनले लिनुपर्छ, स्थानीयहरुको भनाईरहेको छ।
प्रतिक्रिया