सिरहा, चैत १९
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ का उत्तरपुस्तिका अब सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गर्न निर्देशन दिइएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रअन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ, सिराहाले परिपत्र जारी गर्दै परीक्षा सकिएपछि सोही केन्द्रमा उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाउन सबै केन्द्राध्यक्षलाई निर्देशन दिएको हो।
जारी निर्देशनअनुसार परीक्षा सकिएपछि परीक्षार्थीको सिम्बोल नम्बरअनुसार उत्तरपुस्तिका मिलान गरेर परीक्षण प्रक्रिया अघि बढाइनेछ। केन्द्रले सूचीकृत गरेका विषयगत शिक्षकहरूलाई रोस्टर अनुसार बिहान ११ बजे नै परीक्षा केन्द्रमा उपस्थित गराई परीक्षण कार्य सुरु गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, परीक्षा केन्द्रमा सहभागी नभएका विद्यालयका विषय शिक्षकबाट मात्र परीक्षणका लागि रोस्टर तयार गरी केन्द्राध्यक्षले स्वीकृत गर्नुपर्ने उल्लेख गरिएको छ। परीक्षणमा संलग्न शिक्षकले सम्बन्धित विषयमा कम्तीमा एक शैक्षिक सत्र अध्यापन गरेको अनुभव र हाल कार्यरत रहेको प्रमाणसमेत पेश गर्नुपर्नेछ।
निर्देशनमा परीक्षण कार्यमा लापरवाही हुन नदिन विशेष ध्यान दिन आग्रह गरिएको छ भने गोपनीयता कडाइका साथ पालना गर्नुपर्ने उल्लेख छ। उत्तरपुस्तिका परीक्षण सम्पन्न भएपछि मार्कसिट अलग्गै खाममा राखी लाहा छाप लगाएर सुरक्षित रूपमा सम्बन्धित इकाइमा पठाउनुपर्ने व्यवस्था गरिएको छ।
यस्तै, परीक्षणपछि उत्तरपुस्तिका कपडाको झोलामा राखी लाहा छाप लगाएर नजिकको प्रहरी चौकी वा इलाका प्रहरी कार्यालयमा सुरक्षित राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
परीक्षण कार्य CCTV निगरानी भएको परीक्षा हलमै गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। साथै, थप जानकारीका लागि ‘माध्यमिक शिक्षा परीक्षा सञ्चालन, व्यवस्थापन तथा उत्तरपुस्तिका परीक्षण निर्देशिका–२०८२ अनुसार कार्य गर्न आग्रह गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइले यस निर्देशिकालाई कडाइका साथ कार्यान्वयन गर्न सबै परीक्षा केन्द्रलाई अनुरोध गरेको छ।
प्रतिक्रिया