भूमि सुधार तथा मालपोत कार्यालय सिरहा ले अनधिकृत व्यक्तिहरू (बिचौलिया) को कार्यालय प्रवेशमा पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ। सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र झन्झटरहित बनाउन यस्तो निर्णय गरिएको कार्यालयले सूचनामार्फत जानकारी दिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि व्यवस्थापन तथा अभिलेख विभाग बाट प्राप्त निर्देशनअनुसार सेवाग्राहीलाई सहज सेवा दिने नाममा अनावश्यक रूपमा हस्तक्षेप गर्ने बिचौलियाको प्रवेश रोकिएको हो।

कार्यालयका अनुसार सेवाग्राहीलाई दुःख दिने, अनावश्यक चलखेल गर्ने तथा विभिन्न शाखामा कर्मचारीबाहेक अन्य व्यक्तिको अनधिकृत आवतजावत नियन्त्रण गर्न यो कदम चालिएको हो। अब अत्यावश्यक काम परेमा मात्र सम्बन्धित व्यक्तिले परिचय खुल्ने कागजातसहित कार्यालय प्रमुखको अनुमतिमा मात्रै प्रवेश पाउने व्यवस्था गरिएको छ।
यसैगरी, सेवाग्राहीलाई पनि आफ्नो कामका लागि स्वयं उपस्थित भई परिचय खुल्ने कागजातसहित सेवा लिन अनुरोध गरिएको छ।
कार्यालयले यस कदमले सेवा प्रवाह अझ सहज, पारदर्शी र बिचौलियामुक्त बन्ने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया