२१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सिरहा जिल्ला प्रशासन कार्यालयले व्यक्तिगत रूपमा राखिएका हातहतियार बुझाउन निर्देशन दिएको छ। निर्वाचन निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित प्रशासनले यस्तो कदम चालेको हो।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनाअनुसार जिल्लाभित्र व्यक्तिगत रूपमा राखिएका सबै किसिमका हातहतियार तथा खरखजाना माघ २१ गतेभित्र अनिवार्य रूपमा बुझाउनुपर्नेछ। ती हातहतियार नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाउन सकिने व्यवस्था गरिएको छ।

प्रशासनले निर्वाचन अवधिमा सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्देशन जारी गरिएको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार निर्वाचन सम्पन्न भएपछि कानुनी प्रक्रिया पूरा गरी बुझाइएका हातहतियार फिर्ता लिन सकिनेछ।
निर्देशनको पालना नगर्ने व्यक्तिको हकमा भने कानुनअनुसार हातहतियार नियन्त्रणमा लिइने र आवश्यक कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ। निर्वाचनलाई प्रभावित पार्न सक्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट सन्देशसमेत प्रशासनले दिएको छ।
प्रतिक्रिया