सिरहा, असार २५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिरहा जिल्ला अधिवेशन नेतृत्व चयनको विषयलाई लिएर विवादित बनेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको छ।
सिरहाको जिरोमाइलमा जारी जिल्ला अधिवेशनका क्रममा नयाँ नेतृत्व चयनबारे मतभेद चर्किएपछि विवाद उत्पन्न भएको हो। अधिवेशनमा जिल्ला सभापति पदका लागि सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली आकांक्षी रहेको बताइएको छ।
अधिवेशनको खुला सत्र सञ्चालन भइरहेकै बेला प्रमुख अतिथि, सांसदहरू तथा केही नेताहरू कार्यक्रमस्थल बाहिरिएपछि कार्यकर्ताहरूबीच असन्तुष्टि बढेको थियो। नेतृत्व चयन प्रक्रियामा सांसदहरूको हस्तक्षेप भएको आरोपसमेत उठेपछि अधिवेशन थप विवादमा तानिएको हो।

पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र नेतृत्व चयनको विषयलाई लिएर कार्यकर्ताहरूले खुलेर असन्तुष्टि जनाएका छन्। अधिवेशनस्थलमै विभिन्न समूहबीच छलफल तथा छुट्टाछुट्टै बैठकहरू समेत चलेको स्रोतले जनाएको छ।
विवाद बढ्दै गएपछि रास्वपा सिरहा जिल्ला अधिवेशन निर्वाचन समितिले निर्वाचन प्रक्रिया स्थगित गरेको छ। निर्वाचन समितिका कार्यवाहक निर्वाचन संयोजक डा. इन्द्रजीत प्रसाद महतोद्वारा जारी सूचनामा केन्द्रीय निर्वाचन आयोगबाट प्राप्त पत्रअनुसार निर्वाचन प्रक्रिया रोकिएको उल्लेख गरिएको छ।
निर्वाचन समितिले जारी गरेको सूचनाअनुसार स्थगित गरिएको निर्वाचन प्रक्रिया भोली २६ गते बिहान ९:०० बजेदेखि पुनः सञ्चालन गरिनेछ।
जिल्ला नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र बन्दै जाँदा अधिवेशनमा देखिएको विवादले रास्वपा सिरहाभित्रको आन्तरिक शक्ति सन्तुलन र संगठनात्मक व्यवस्थापनबारे समेत प्रश्न उठाएको छ। अब स्थगित निर्वाचन प्रक्रिया पुनः सञ्चालन भएपछि नेतृत्व चयन कुन दिशामा अघि बढ्छ भन्ने विषयमा कार्यकर्ता तथा नेताहरूको चासो केन्द्रित भएको छ।
प्रतिक्रिया