सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिहरूले आफ्ना मागहरू राख्दै सुशासनलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, उनीहरूले आगामी निर्वाचनको पक्षमा रहेको तर केवल चुनाव गरेर मात्र देशको समस्या समाधान नहुने स्पष्ट गरेका छन्।
“हामीलाई चुनाव चाहिएको हो, गर्नुपर्छ पनि, तर केवल चुनावका नाममा जनताको चासो हराउने काम नहोस्, जेनजी प्रतिनिधिहरूको भनाइ उद्धृत गर्दै सचिवालयले जनाएको छ।
वार्तामा सहभागी युवा प्रतिनिधिहरूले आन्दोलनको मुख्य उद्देश्य सुशासन रहेको उल्लेख गर्दै सरकार र राजनीतिक दलहरूसँग मिलेर अघि बढ्ने तयारी देखाएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले वार्तामा युवा पुस्ताको दृष्टिकोण स्वागत गर्दै सुशासन र सुधारका एजेन्डामा सरकार सहकार्य गर्न तयार रहेको बताइन्। उनले युवाको सहभागितालाई सरकारका नीतिगत निर्णयमा समेत समेटिने गरी अघि बढ्ने प्रतिबद्धता जनाइन्।
प्रतिक्रिया