पूर्वसिँचाइ मन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
मंगलबार ललितपुरको बालकुमारीस्थित जसपा नेपाल केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादवले खादा ओढाएर उनलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरे।
सप्तरी निवासी यादव लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका छन्। पार्टी प्रवेशका क्रममा बोल्दै उनले देशको वर्तमान राजनीतिक परिस्थितिमा संघीयताको प्रभावकारी कार्यान्वयन, मधेशको अधिकार, पहिचान र सामाजिक न्यायका सवालमा जसपा नेपालको एजेन्डा स्पष्ट र जनमुखी भएकाले आफू यस पार्टीमा आबद्ध भएको बताए। उनले जसपाको नेतृत्वमा मात्रै शोषित र उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने विश्वास व्यक्त गरे।
उमेश यादव तत्कालीन जनयुद्धकालदेखि नै राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। उनले माओवादी आन्दोलनको सेल कमिटीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न जिम्मेवारी सम्हालेका थिए। साथै मधेशी राष्ट्रिय मुक्ति मोर्चाको सप्तरी संयोजक, जिल्ला जनसरकार प्रमुख र जनमुक्ति सेनाको बटालियन कमिसारको भूमिकामा समेत काम गरिसकेका छन्। उनी संविधानसभाका पूर्वसदस्य समेत हुन्।
उनको पार्टी प्रवेशलाई जसपा नेपालले मधेश केन्द्रित राजनीतिलाई थप सशक्त बनाउने घटनाक्रमका रूपमा लिएको छ।
प्रतिक्रिया