logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • आज देशभर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको मनोनयन

    आज देशभर प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारको मनोनयन

    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार देशभरका सबै १६५ निर्वाचन क्षेत्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ ।

    आयोगले उम्मेदवारलाई मनोनयनका क्रममा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा ल्याउन निर्देशन दिएको छ । साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि पेश गर्नुपर्ने व्यवस्था छ ।
    उम्मेदवारी दर्ताका क्रममा तडकभडक, जुलुस वा भीडभाड नगर्न आयोगले राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ । शान्त, मर्यादित र व्यवस्थित रूपमा निर्वाचन कार्यालय पुग्न आयोगले सबैलाई अनुरोध गरेको हो । भीड व्यवस्थापन र दर्ता प्रक्रियालाई सहज बनाउन प्रमुख राजनीतिक दल तथा उम्मेदवारका लागि समयसमेत तोकिएको आयोगले जनाएको छ ।

    यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत चयन हुने संवैधानिक व्यवस्था छ ।
    गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन र स्रोत उपलब्ध गराइसकेको छ । निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोटको प्रक्रिया पनि सुरु भइसकेको आयोगले जनाएको छ ।
    राजनीतिक दलहरूले अधिकांश स्थानमा उम्मेदवार टुंग्याइसकेका छन् । नेपाली कांग्रेसले केही निर्वाचन क्षेत्रमा उम्मेदवार छनोटको प्रक्रिया अझै जारी रहेको जनाएको छ भने नेकपा एमालेले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट सम्पन्न गरिसकेको दाबी गरेको छ । एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवारलाई आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन् ।
    आयोगले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको उल्लेख गर्दै आज देशभर उत्साहपूर्ण रूपमा उम्मेदवार मनोनयनको कार्यक्रम अगाडि बढ्ने विश्वास व्यक्त गरेको छ । विसं २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ माघ ६, मंगलवार ०९:२४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP