सरकारले आजदेखि सरकारी कार्यालयको समय परिवर्तन गरेको छ। अब देशभरका सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुने भएका छन्।
आइतबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। यसअघि कार्यालय समय बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कायम थियो।
यस निर्णयसँगै अब हप्तामा दुई दिन—शनिबार र आइतबार—सार्वजनिक बिदा दिने व्यवस्था पनि कार्यान्वयनमा आएको छ। सरकारले इन्धन खपत घटाउने र खर्च नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ।
जाडोयाम (कात्तिक १६ देखि माघ १५ गतेसम्म) भने कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुँदै आएको थियो।
सरकारको यो निर्णय नयाँ भने होइन। यसअघि २०७९ साल जेठ १ गते शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि बिहान साढे ९ बजेदेखि बेलुकी साढे ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने अभ्यास लागू गरेको थियो।
सरकारको यो निर्णय हिजो नै राजपत्रमा प्रकाशित भइसकेको छ र आजदेखि औपचारिक रूपमा लागू भएको हो।
प्रतिक्रिया