नेकपा एमालेका कार्यकर्ताहरूले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाउँदै विरोध प्रदर्शन गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालय बाहिर कार्यकर्ताहरूले प्रतिवेदन जलाएका हुन्।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले वर्तमान सरकारले राजनीतिक प्रतिशोधका आधारमा कारबाही गरेको आरोप लगाउँदै चर्को नाराबाजी गरेका थिए। उनीहरूले आयोगको प्रतिवेदनलाई पूर्वाग्रही र एकपक्षीय भन्दै खारेज गर्नुपर्ने माग समेत गरेका छन्।
त्यसैगरी, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पनि शनिबार काठमाडौंको भृकुटीमण्डपमा विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरूले टायर बाल्दै अध्यक्ष ओलीको रिहाइको माग गरेका थिए। उनीहरूले पनि आयोगको प्रतिवेदन जलाउँदै सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्।
यता, एमाले सचिवालयले अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। पार्टीले आफ्ना नेतामाथि लगाइएको आरोपको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आन्दोलनलाई थप सशक्त बनाउने संकेत दिएको छ।
प्रतिक्रिया