सिरहा — सिरहा जिल्लाको धनगढीमाई नगरपालिका–११ आमचौकमा गत साउन १४ गते राति ८५ वर्षीय फनीलाल यादवको धारिलो हतियार प्रयोग गरी हत्या भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको दाबी गरेको छ। तर, घटनापछि प्रहरी प्रशासनमाथि जनविश्वास घट्दै गएको छ।
बिहीबार जिल्ला प्रहरी कार्यालय सिरहाले पत्रकार सम्मेलन गर्दै धनगढीमाई–२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्त कुमार मण्डललाई पक्राउ गरिएको जनाएको छ। बरामद हतियारसहित सार्वजनिक गरिएका उनीहरूलाई प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।
तर, घटनापछि स्थानीयवासीहरू प्रहरी प्रशासनमाथि आक्रोशित बनेका छन्। उनीहरूको आरोप छ — प्रहरी कुनै पनि घटना घटिसकेपछि मात्र सक्रिय हुन्छ, त्यो पनि घटना घटाउने समूह फरार भइसकेपछि। यसरी ढिलासुस्ती हुँदा अपराध नियन्त्रण असफल हुँदै गएको स्थानीयको भनाइ छ।
प्रहरी प्रशासनले सवारी साधनको कमीका कारण कतिपय घटनास्थलमा पुग्न ढिलो भएको स्वीकार गरेको छ। तर, यो स्वीकारोक्तिले जनआक्रोश कम भएको छैन। बरु, नागरिकहरू अब आफ्नो सुरक्षा आफैं गर्नुपर्ने सोचतर्फ अग्रसर भइरहेका छन्।
स्थानीयको भनाइमा, घटना भइरहेको बेला वा घटनापूर्वै सूचना दिएर पनि प्रहरी तत्काल उपस्थित नहुनु गम्भीर लापरबाही हो। घटनापछि मात्र पक्राउ गर्नु प्रहरीको नियमित कार्य हो, ठूला उपलब्धि होइन।
घटनामा एक स्थानीय नेताको बुवाको हत्या भएपछि प्रहरी प्रशासनले तत्परता देखाएको भए पनि, यसलाई धेरैले ‘आँखामा छारो हाल्ने काम’ मात्र भएको ठानेका छन्। कारण यसअघि पनि यस्ता घटना हुँदा प्रहरीले यस्तै ढिलो प्रतिक्रिया देखाएको थियो।
फनीलाल यादव हत्या प्रकरणले फेरि एकपटक प्रहरी प्रशासनको अपराध नियन्त्रण क्षमतामाथि प्रश्न उठाएको छ। धेरैको बुझाइमा, प्रहरी प्रशासन असफलताकै दिशामा उन्मुख छ, र जनताको विश्वास पुनःस्थापित गर्न तत्काल सुधार आवश्यक छ।
प्रतिक्रिया