logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

    आदिदेव सूर्यको उपासना गरेर मनाइने महापर्व छठको दोस्रो दिन आज खरना विधिपूर्वक मनाइँदैछ।

    आज दिनभर निराहार रहेर साँझ ब्रतालुहरूले चामल, दूध र सक्खर मिसाएर बनाइएको खीर पकाई प्रसादस्वरूप ग्रहण गर्दै खरना विधि पूरा गर्छन्। उक्त खीर घरका सबै सदस्यहरूले प्रसादका रूपमा ग्रहण गर्छन् भने केही स्थानमा यो प्रसाद छिमेकी वा आफन्तलाई वितरण गर्ने परम्परा पनि रहिआएको छ।

    चार दिनसम्म चल्ने यो पर्व सन्तानको दीर्घायु, पारिवारिक सुख–समृद्धि र आरोग्यका लागि मनाइन्छ। यसअघि हिजो शनिबार ‘नहाय–खाय’ विधिबाट पर्वको औपचारिक सुरुवात गरिएको थियो। त्यस दिन ब्रतालुहरूले नदी, पोखरी वा तलाउमा स्नान गरी अरवा–अरबाइन तथा चोखो भोजन ग्रहण गर्दै उपवासको तयारी गरेका थिए।

    भोलि सोमबार छठको तेस्रो तथा मुख्य दिन साँझ ब्रतालुहरूले जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन्। मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुनेछ।

    छठमा बाँसका ढाकी, डगरी, माटोका कोसिया–कुरबार र हाँडीसहितका सामग्री प्रयोग गर्ने प्रचलन छ। प्रसादमा ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, विभिन्न मिठाई र फलफूल चढाइन्छ।

    अर्घ्य दिने ब्रतालुहरूले करिब ४८ घण्टासम्म जलसम्म नखाई कठोर उपवास बस्ने परम्परा रहेको छ। सबै विधि अत्यन्त निष्ठा, स्वच्छता र अनुशासनका साथ पूरा गर्नुपर्ने भएकाले छठलाई सबैभन्दा कठोर र निष्ठापूर्ण पर्वका रूपमा मानिन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ कार्तिक ९, आईतवार ०८:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP