logo
  • २०८३ जेष्ठ २३ | Sat, 06 Jun 2026
  • निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

    निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन

    आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित आजदेखि नेपाली सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय परिचालनमा आएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ अनुसार सुरक्षा व्यवस्था कार्यान्वयनमा ल्याइएको हो।
    सरकारले निर्वाचनको समयमा शान्ति सुरक्षा मजबुत बनाउन यसअघि नै एकीकृत सुरक्षा योजना स्वीकृत गरी लागू गरिसकेको छ। आगामी फागुन २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा सुरक्षा प्रबन्धलाई अझ प्रभावकारी बनाउने योजनाअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालित भएका हुन्।
    एकीकृत सुरक्षा योजनाअनुसार निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी पनि सुरक्षामा खटाइनेछ। मतदानस्थलको भित्री घेराको सुरक्षा नेपाल प्रहरी र निर्वाचन प्रहरीले गर्नेछन् भने दोस्रो तहको सुरक्षा जिम्मेवारी सशस्त्र प्रहरी बलले सम्हाल्नेछ। सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गरेर काम गर्ने जनाइएको छ।
    नेपाली सेनाले बाहिरी सुरक्षा घेरामा रही समग्र सुरक्षाको महत्वपूर्ण जिम्मेवारी लिनेछ। सेनाका अनुसार बुधबारदेखि नै १६५ वटै निर्वाचन क्षेत्रमा सेना परिचालन गरिएको छ। निर्वाचन सुरक्षाका लागि करिब ८० हजार सैनिक परिचालन गर्ने तयारी रहेको बताइएको छ।
    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना परिचालन गर्न यसअघि नै स्वीकृति दिएका थिए।
    आसन्न निर्वाचनमा तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरिसकेको छ। आयोगका अनुसार यस निर्वाचनमा कुल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम छन्, जसमा महिला, पुरुष र अन्य लैङ्गिक समूहका मतदाता समावेश छन्।
    निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ। नेपाल प्रहरीतर्फबाट ७७ हजार जनशक्ति परिचालन हुने जनाइएको छ। विद्यमान जनशक्ति अपुग भएपछि थप एक लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।
    सुरक्षा निकायहरूले निर्वाचन अवधिभर समन्वयात्मक ढंगले काम गर्दै शान्तिपूर्ण मतदान सुनिश्चित गर्ने बताएका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ माघ २१, बुधबार ०९:५७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP