सिरहा जिल्लाका चार वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल १ सय ३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन क्षेत्रअनुसार सिरहा–१ मा ३२ जना, सिरहा–२ मा २९ जना, सिरहा–३ मा ४१ जना र सिरहा–४ मा ३७ जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन कार्यालयका अनुसार यसपटक स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य छ । सिरहा–१ मा १८ जना, सिरहा–२ मा १५ जना, सिरहा–३ मा २९ जना र सिरहा–४ मा २३ जना गरी चारवटै क्षेत्रमा जम्मा ८५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । कुल उम्मेदवारमध्ये ठूलो हिस्सा स्वतन्त्र भएकाले चुनावी प्रतिस्पर्धा फरक ढंगले अघि बढ्ने संकेत देखिएको छ ।
मतदाता विवरणअनुसार सिरहाका चार वटै निर्वाचन क्षेत्रमा पुरुष मतदाता २ लाख ४१ हजार ६ सय १४ जना छन् । महिला मतदाता २ लाख १२ हजार २८ जना रहेका छन् भने अन्य लिङ्गतर्फ २ जना मतदाता दर्ता भएका छन् । यसरी जिल्लामा कुल मतदाता संख्या ४ लाख ५३ हजार ६ सय ४५ पुगेको छ ।
निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि दाबी–विरोध, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशनको कार्यतालिका अनुसार प्रक्रिया अघि बढ्ने जनाएको छ । उम्मेदवार संख्या धेरै भएकाले सिरहाका सबै निर्वाचन क्षेत्रमा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक र चासोपूर्ण हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया