काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
रिजाल जेनजी आन्दोलनका बेला काठमाडौंका सीडीओ थिए। २३ भदौमा भएको आन्दोलनका क्रममा गोली चलाउन आदेश दिएको आरोप उनीमाथि छ। उक्त घटनापछि उनको भूमिकामाथि निरन्तर प्रश्न उठ्दै आएको थियो।
सीडीओ हुनुअघि रिजाल गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। सो अवधिमा उनले कर्मचारी सरुवा तथा पदस्थापनामा ‘पेशागत आचरण विपरीत काम गरेको’ आरोप समेत खेपिरहेका छन्। विशेष गरी अध्यागमन तथा अन्य आकर्षक कार्यालयहरूमा कर्मचारी पठाउँदा अनियमितता गरेको आशंका गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पठाएको विवरणमा रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान भइरहेको उल्लेख छ। सोही प्रकरणमा गृहमन्त्रीका तत्कालीन निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँग जोडिएका अस्वाभाविक गतिविधि र ‘सेटिङ’ सम्बन्धी विवरण पनि अनुसन्धानको घेरामा छन्।
हाल रिजाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। पक्राउसँगै उनीमाथिको अनुसन्धान थप तीव्र बनाइने प्रहरीले जनाएको छ।
प्रतिक्रिया