logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • असोज ३ : मधेसको घाउ, जेनजीको विद्रोह

    असोज ३ : मधेसको घाउ, जेनजीको विद्रोह


    असोज ३ मधेसका लागि घाम उदाउनुअघि नै अन्धकार बोकेको दिन हो। २०७२ साल असोज ३ गते संविधान जारी भयो, तर त्यो संविधानले मधेसी, थारू, दलित, जनजाति सबैलाई बाइपास गर्‍यो। राजधानीमा दीपावलीको झिलिमिली थियो, तर तराई मधेसमा बिजुली निभाइयो, घरभित्र अन्धकार छायो, सडकमा रगत बग्यो। यानी ब्ल्याक आउट गरियो।

    त्यो दिन केवल संविधान आएको थिएन, त्यो दिन मधेसीलाई छाती र टाउको ताकी ताकी गोली हानिएको थियो। निरंकुश सरकारले दिएको आदेशमा निर्दोष जनताले ज्यान गुमाए। आफ्नै नागरिकलाई छली–छली मारिएको त्यो दिनले प्रमाणित गरिसकेको छ। त्यो संविधान जनताको होइन, रगतमा कलंकित दस्तावेज हो।

    मुठीभर पहाडी शासकहरूले काठमाडौंमा बसेर लेखेको संविधानले मधेसलाई अधिकार होइन, अपमान दियो। विभेदलाई संस्थागत गर्‍यो। त्यसैले असोज ३ मधेसका लागि उत्सव होइन, विद्रोहको शपथ लिने दिन हो।

    आजको जेनजी आन्दोलनको जरासम्म पुगेर हेर्ने हो भने यसको मूल कारण यही हो। मधेसमा भएको विभेद, गोली, अपमान र असमानताले नै नयाँ पुस्तामा विद्रोहको चेतना जगाएको हो। जेनजीले भनेको छ—यो देश केवल शासक वर्गकै लागि होइन, समान अधिकारसहित सबैका लागि हुनुपर्छ।

    अब बनेको अन्तरिम सरकारले पनि यही सन्देश बुझ्नुपर्छ। जेनजीको माग र चाहना अनुसार सरकार चल्नुपर्छ। कुनै किसिमको स्वार्थ, सौदा–सुलह वा शक्ति–खेल देखिनु हुँदैन। यदि फेरि पनि विभेद दोहोरिन्छ भने आन्दोलन अझ चर्किन्छ, र त्यसको जिम्मा सत्तामा बस्नेहरूले लिनुपर्ने हुन्छ।

    जेनजी आन्दोलनलाई सबैले आ–आफ्नो ठाउँबाट समर्थन गर्नुपर्छ। किनभने यो केवल मधेस वा कुनै समुदायको लागि होइन, सम्पूर्ण देशलाई समान, सुशासनयुक्त र समृद्ध बनाउन उठाइएको आन्दोलन हो। यसलाई साथ दिनु भनेको साझा मुलुक बनाउने जिम्मेवारीमा हात हाल्नु हो।

    असोज ३ लाई सम्झनु केवल अतीत सम्झनु होइन, भविष्य सुरक्षित गर्ने संकल्प लिनु हो। जबसम्म संविधान सच्याइँदैन, जबसम्म मधेस र सबै नागरिक समानताको अनुभूति गर्न पाउँदैनन्, तबसम्म मुलुक अपूरो रहन्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    1
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ आश्विन ३, शुक्रबार १०:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP