logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • फेरि प्रतिनिधि सभाको चुनाव? यो जेनजीको माग होइन

    फेरि प्रतिनिधि सभाको चुनाव? यो जेनजीको माग होइन

    अन्तरिम सरकारकी प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचन आयोगसँगको छलफलमा फागुन २१ मा हुने प्रतिनिधि सभाको चुनावलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउन सरकार प्रतिबद्ध भएको भन्दै घोषणा गरिन्। तर यो घोषणा आन्दोलनमै घाइते भएकाहरू, शहीद भएका परिवारहरू, र बलिदानीको इतिहास बोकेका जनताका लागि अपमान बाहेक केही छैन।

    हामीले रगत बगाएको आन्दोलन प्रतिनिधि सभाको चुनाव फेरि गराउनको लागि थिएन। हाम्रो छाती र टाउकोमा चलाइएका गोली प्रतिनिधि सभा सदस्यहरूका कुर्सी भर्नको लागि थिएन। हाम्रो बलिदान पुरानै संसदलाई पुनःस्थापना गर्नका लागि थिएन।
    जेनजी आन्दोलनको माग प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हो । संसदबाट मन्त्री बन्ने प्रथा अन्त्य हो। आन्दोलनमा गोली चलाउने आदेश दिनेहरूलाई कानुनी कठघरामा उभ्याउने व्यवस्था हो, सुशासन र भ्रष्टाचार विरुद्धको हो तर आज प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभाको चुनावलाई नै उच्च प्राथमिकता भनेर बोल्दा, आन्दोलनका मागलाई धोका दिएकी छन्।
    यो सरकार जेनजीको रगत र कुर्बानीले बनेको अन्तरिम सरकार हो। यसले जनताको आवाज सुन्नुपर्छ, जनताको माग पूरा गर्नुपर्छ। तर प्रधानमन्त्री कार्की पुरानै ढर्राको चुनावतिर लम्किँदा जनता झन् निराश भएका छन्। यो अभिव्यक्ति जनतामाथिको उपहास हो।
    हामी फेरि स्पष्ट भन्छौं: प्रतिनिधि सभाको चुनाव हाम्रो प्राथमिकता होइन! जनआन्दोलनले ल्याएको परिवर्तनलाई संस्थागत गर्नु, नयाँ प्रणाली ल्याउनु, प्रत्यक्ष कार्यकारी प्रमुख स्थापित गर्नु, अनि दोषीलाई कानुनी कठघरामा उभ्याउनु नै हाम्रो प्राथमिकता हो।
    यदि प्रधानमन्त्रीले अझै पनि पुरानै संसदलाई जिन्दावाद भन्न चाहन्छिन् भने, त्यो जनताले दिएको जिम्मेवारीको विश्वासघात हुनेछ। र इतिहासले उनलाई सम्झिनेछ– उनले जनताको रगतलाई चुनावको सस्तो प्रचारमा बदलिदिइन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ आश्विन ८, बुधबार १०:४१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP