नेपाल कुशवाहा कल्याण समाज सिरहा जिल्ला कार्य समितिले असोज १७ र १८ गते हुने भनिएको जिल्ला अधिवेशन तोकिएकै मितिमा हुने जनाएको छ।
शुक्रबार सिरहामा भएको पत्रकार सम्मेलनमा जिल्ला अध्यक्ष धनपति महतोले केन्द्रीय कार्यसमितिले अवैधानिक तरिकाले अधिवेशन स्थगित गर्न निर्देशन दिए पनि जिल्लामा कुनै विवाद नरहेकाले अधिवेशन तोकिएकै मितिमा हुने स्पष्ट पारेका छन्।
उनका अनुसार केन्द्रीय समितिले शान्ति–सुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालयमा समेत पत्राचार गरी अधिवेशन रोक्न दबाब दिएको छ। तर जिल्ला समितिले सो निर्देशन गैरवैधानिक भएको भन्दै पालना नगर्ने निर्णय गरेको हो।सिरहामा कुनै विवाद छैन। त्यसैले अधिवेशन यही असोज १७ र १८ गते नै हुन्छ। कुनै तलमाथि भएको छैन,” महतोले भने।
जिल्ला समितिले अधिवेशनबारे तोकिएको प्रक्रिया अनुसार सूचना सार्वजनिक गरी तयारी पूरा गरेको जनाएको छ। समितिले सबै चरण पारदर्शी र वैधानिक ढंगले सम्पन्न हुने दाबी गरेको छ।
यसअघि केन्द्रीय समितिबाट पटक–पटक पत्राचार गरी अधिवेशन रोक्न चेतावनी दिइएको र वैधानिक प्रक्रियाबाहिर गएर हस्तक्षेप गर्न खोजिएको जिल्ला समितिको आरोप छ। अधिवेशन रोक्ने वा सार्ने अधिकार केन्द्रीयलाई नभई स्थानीय कार्यसमितिलाई हुने भन्दै महतोले जिल्लामा हुने अधिवेशन कुनै हालतमा प्रभावित नहुने बताएका छन्।
प्रतिक्रिया