कोजाग्रत पूर्णिमाको अवसरमा आज देशभर धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बस्ने परम्परा निभाइँदैछ। यस दिन महालक्ष्मीको विशेष पूजाआजासँगै १५ दिन लामो दुर्गा पक्ष (दशैं) औपचारिक रूपमा समाप्त हुने धार्मिक परम्परा छ।
आज साँझ घरमा महालक्ष्मीको पूजाआजापछि जाग्राम बसेका भक्तजनका घरमा देवी महालक्ष्मी स्वयं प्रवेश गरी धन, ऐश्वर्य र सम्पन्नता प्रदान गर्ने धार्मिक विश्वास छ। घरको सफाइ गरी, दीयो बाली देवीको आवाहन गर्दै परिवारका सदस्यले जाग्राम बस्ने चलन प्राचीन कालदेखि निरन्तर रहँदै आएको छ।
दशैंको टीका र जमरा लगाउने क्रम पनि आजसँगै समाप्त भएको छ। भोलिदेखि भने हिन्दू धर्मावलम्बीहरूले कात्तिक स्नान र आकाशदीप (दीयो) दान गर्ने परम्परा सुरु गर्ने गर्छन्। कात्तिक महिनाभर बिहान चाँडै उठी नदी, पोखरी वा धारामा स्नान गरी दान-पुण्य गर्ने धार्मिक मान्यता रहेको छ।
धार्मिक परम्पराअनुसार कोजाग्रत पूर्णिमा समृद्धि, शुभता र परिवारिक ऐक्यको प्रतीकका रूपमा मनाइन्छ।
प्रतिक्रिया