नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले भोलि फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन खारेज गर्न आह्वान गरेको छ। पार्टीको केन्द्रीय समितिद्वारा जारी प्रेस वक्तव्यमा वर्तमान चुनावी प्रक्रिया मुलुकको गम्भीर राजनीतिक, आर्थिक तथा सामाजिक संकटको समाधान हुन नसक्ने दाबी गरिएको छ।
वक्तव्यमा दलाल पुँजीवादी संरचनाभित्र हुने चुनावले जनताको जनजीविकासँग जोडिएका आधारभूत प्रश्न समाधान नगर्ने ठहर गरिएको छ। संविधानमा अग्रगामी संशोधन, सर्वपक्षीय राजनीतिक सम्मेलन र स्वाधीन संयुक्त सरकार गठनमार्फत मात्रै राजनीतिक स्थिरता, सामाजिक रूपान्तरण र राष्ट्रिय स्वाधीनता सुनिश्चित गर्न सकिने पार्टीको भनाइ छ।

पार्टीले भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध आफूहरू निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै वर्तमान चुनावलाई “पुरानै सत्ताको निरन्तरता दिने अभ्यास” को संज्ञा दिएको छ। जनआकांक्षा विपरीत सत्ता सञ्चालन हुने प्रवृत्तिको अन्त्यका लागि व्यापक राजनीतिक पुनर्संरचना आवश्यक रहेको पनि वक्तव्यमा उल्लेख छ।
अग्रगामी शक्तिहरूबीच साझा कार्यक्रम र संयुक्त आन्दोलनमार्फत दलाल पुँजीवादी अधिनायकवादको अन्त्य गरी जनवादी लोकतन्त्र स्थापना गर्ने लक्ष्य दोहोर्याउँदै पार्टीले चुनाव बहिष्कार र देशव्यापी प्रतिवादमा सहभागी हुन अपिल गरेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार देशको राजनीतिक दिशा र शासन प्रणालीबारे बहस तीव्र बन्दै गएको अवस्थामा यस्तो आह्वानले आगामी दिनमा नयाँ समीकरण र सडक आन्दोलनलाई थप गति दिन सक्ने संकेत देखिएको छ।
प्रतिक्रिया