पर्साको वीरगञ्जमा सुरक्षा अवस्था संवेदनशील बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लागू गरिएको प्रशासनले जनाएको छ।
हालै देखिएको तनावपूर्ण गतिविधि, भिडभाड र सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम गर्न कर्फ्यु आवश्यक परेको प्रशासनको भनाइ छ। कर्फ्यु अवधिभर वीरगञ्ज महानगर क्षेत्रका मुख्य बजार, चोक र आवतजावत बढी हुने स्थानहरूमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

कर्फ्युका बेला अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन निर्देशन दिइएको छ। सवारी साधनको आवतजावत, जमघट, प्रदर्शन तथा कुनै पनि प्रकारका गतिविधिमा पूर्ण रूपमा रोक लगाइएको प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश उल्लङ्घन गर्नेलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै, नागरिकलाई अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहन आग्रह गर्दै प्रशासनले सुरक्षाकर्मीलाई सहयोग गर्न अनुरोध गरेको छ।
प्रशासनका अनुसार परिस्थितिको मूल्यांकन गर्दै कर्फ्यु अवधि थप वा घट गर्न सकिनेछ। वीरगञ्जमा शान्ति र अमनचयन कायम राख्न सबै पक्षको संयमता र जिम्मेवारी आवश्यक रहेको प्रशासनको जोड छ।
प्रतिक्रिया