बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सिरहामा पिकनिक खान हेलिकप्टर चढेर आएका छन्। पुसको कठ्याङ्ग्रिदो जाडोमा श्रमिक तथा विपन्न समुदाय खुला आकाशमुनि बस्न बाध्य रहेको बेला मुख्यमन्त्री बानियाँ सिरहा कांग्रेस सभापति रामचन्द्र यादवले आयोजना गरेको वनभोजमा सहभागी हुन माउन्टेन एयरको हेलिकप्टरमार्फत हेटौंडाबाट सिरहा आएका हुन्।
अंग्रेजी नयाँ वर्षको अवसरमा धनगढीमाई नगरपालिका–१४ स्थित सर्रेअम्बासमा आयोजित वनभोजमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय पनि सहभागी भएका थिए। उनीहरू भने सरकारी सवारी साधन प्रयोग गरी कार्यक्रमस्थल पुगेका थिए।

तर यही समयमा सिरहाका विभिन्न बस्तीमा श्रमिक वर्ग, दलित तथा विपन्न समुदाय चिसो, भोक र अभावसँग संघर्ष गरिरहेका छन्। न्यानो लुगाको अभाव, चिसो छल्ने ओत नहुनु र सामान्य औषधिसमेत नपाउनु उनीहरूको दैनिक समस्या बनेको छ। स्थानीयका अनुसार आगो तापेर रात काट्नु बाध्यता भएको छ।

कार्यक्रमस्थलमा देखिएको तामझाम र भोजको दृश्यले सत्ता र आम नागरिकबीचको फरक यथार्थ उजागर गरेको टिप्पणी स्थानीय स्तरमा हुन थालेको छ। जनताको करबाट सञ्चालित राज्य स्रोतको प्रयोग प्राथमिकतामाथि प्रश्न उठ्दै गएको छ।

पुसको कठ्याङ्ग्रिदो जाडोमा श्रमिक वर्ग जीवनरक्षाका उपाय खोजिरहेको अवस्थामा सत्ताधारीहरूको हेलिकप्टर यात्रा र वनभोज सहभागिताले राज्यको सामाजिक संवेदनशीलतामाथि बहस सिर्जना गरेको छ।
प्रतिक्रिया