गगन थापाले नेपाली कांग्रेसको सभापति पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा बुझाएका हुन्।
यसअघि काठमाडौं–४ बाट लगातार निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिएका थिए। तर, उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अमरेशकुमार सिंहले पराजित गरेका थिए।
यस निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले भने प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी जम्मा ३८ सिटमा सीमित भएको छ, जसले पार्टीभित्र नेतृत्वमाथि प्रश्न उठाएको छ।
चुनावी परिणाम सार्वजनिक भएपछि नै थापाले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिने तयारी गरेका थिए। यद्यपि, पार्टीका विभिन्न तहका नेताहरूले उनलाई राजीनामा नदिन सुझाव दिँदै आएका थिए।
उल्लेखनीय छ, थापा निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापतिमा निर्वाचित भएका थिए। तर, चुनावी परिणामले उनको नेतृत्वमाथि दबाब बढेको थियो।
थापाले बुझाएको राजीनामाबारे अन्तिम निर्णय भने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले गर्नेछ। यसका लागि पार्टीले शुक्रबार बैठक बोलाएको छ।
प्रतिक्रिया