प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोगमा पक्राउ गरेको छ।
तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उक्त प्रतिवेदनले राज्यका उच्च तहका पदाधिकारीबाट भएको लापरवाहीकै कारण ज्यान गएको ठहर गरेको थियो।
आयोगको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलगायतमाथि मुलुकी अपराध संहिता आकर्षित हुने उल्लेख गरिएको छ। प्रतिवेदनले घटनामा गम्भीर लापरवाही देखिएको निष्कर्ष निकालेको छ।
प्रहरीका अनुसार मुलुकी अपराध संहिताको दफा २८१, २८२ र २८३ अन्तर्गत ‘हेलचेक्र्याइँपूर्वक ज्यान मार्ने’ कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो। यी दफाअनुसार हेलचेक्र्याइँका कारण कसैको ज्यान गएको पुष्टि भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ।
यसअघि नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद तथा गोपनीयताको शपथ लिएको केही घण्टामै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार सुरक्षाकर्मी बाहेकका व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढाइएको बताइएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया