जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आवश्यक र प्रभावकारी उपचारको व्यवस्था गर्न आदेश दिएको छ।
आइतबार न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले ओलीविरुद्ध अनुसन्धानका लागि ५ दिन म्याद थपको अनुमति दिँदै उपचार सुनिश्चित गर्नसमेत निर्देशन दिएको हो। अदालतद्वारा जारी आदेशमा ‘प्रतिवादी अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको देखिएकाले निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गरिनु’ उल्लेख गरिएको छ।
पक्राउपछि स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना भएका ओली इजलासमा भने भर्चुअल माध्यमबाट उपस्थित भएका थिए।
प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो।
जेनजी आन्दोलनका बेला राज्य पक्षबाट भएको बल प्रयोग र त्यसबाट भएको क्षतिको विषयलाई लिएर राजनीतिक तथा कानुनी बहस तीव्र बन्दै गएको छ।
प्रतिक्रिया