नेपाल सरकार अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहत रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र ले विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तक तथा पाठ्यसामग्री सम्बन्धमा कडाइ गर्ने भएको छ।
केन्द्रले सानोठिमी, भक्तपुरबाट जारी गरेको निर्देशनअनुसार शैक्षिक सत्र २०८३ का लागि नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा केन्द्रबाट विकास वा स्वीकृत पाठ्यपुस्तक र पाठ्यसामग्री मात्र विद्यालयमा लागू गर्नुपर्ने स्पष्ट गरिएको छ। साथै, पाठ्यपुस्तक तथा सामग्रीको पृष्ठ संख्या र मूल्यसमेत केन्द्रले निर्धारण गरेको मापदण्डअनुसार हुनुपर्ने उल्लेख गरिएको छ।

निर्देशनमा केही प्रकाशनहरूले कानुनविपरीत बढी मूल्य तोक्ने, कम गुणस्तरका सामग्री छाप्ने तथा स्वीकृति नलिएका पाठ्यपुस्तक बिक्री गर्ने गरेको गुनासो आएको जनाइएको छ। यस्ता गतिविधिले विद्यार्थी र अभिभावकलाई आर्थिक भार थप्नुका साथै शैक्षिक गुणस्तरमा समेत असर पर्ने केन्द्रको भनाइ छ।
त्यस्तै, विद्यालयहरूले पोशाक, पाठ्यपुस्तक तथा स्टेशनरी सामग्री अनिवार्य रूपमा आफ्नै माध्यमबाट खरिद गर्न बाध्य बनाउने कार्यसमेत नीतिविपरीत भएको भन्दै त्यस्ता गतिविधि रोक्न आग्रह गरिएको छ।
केन्द्रले स्थानीय तहसँग समन्वय गरी अनुगमनलाई प्रभावकारी बनाउँदै नियमविपरीत काम गर्ने प्रकाशन, वितरणकर्ता तथा विद्यालयमाथि कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै, यस्ता गतिविधिबारे जानकारी प्राप्त भएमा केन्द्रमा जानकारी गराउन समेत आग्रह गरिएको छ।
प्रतिक्रिया