logo
  • २०८३ बैशाख ६ | Sun, 19 Apr 2026
  • गोलबजारको श्री जनता मावि(प्रा.)को दुर्दशा : अभिभावक भेलामा विद्यालयप्रति तीव्र आक्रोश

    गोलबजारको श्री जनता मावि(प्रा.)को दुर्दशा : अभिभावक भेलामा विद्यालयप्रति तीव्र आक्रोश

    सिरहाको गोलबजारस्थित श्री जनता माध्यमिक विद्यालय (प्राविधिक) का अभिभावकहरूले विद्यालय व्यवस्थापनप्रति कडा असन्तुष्टि जनाएका छन्। विद्यालय व्यवस्थापन समिति गठनका लागि आयोजित अभिभावक भेलामा उपस्थित अभिभावकहरूले विद्यालय र शिक्षकहरूले विद्यार्थीको भविष्यसँग खेलवाड गरेको आरोप लगाएका हुन्।
    भेलामा अभिभावकहरूले विद्यालयको शिक्षणस्तर अत्यन्त कमजोर रहेको गुनासो गरे। उनीहरूको भनाइमा नौ र दश कक्षाका विद्यार्थीहरू सामान्य नेपाली पढ्न र लेख्नसमेत नसक्ने अवस्था छ । शिक्षकहरू औपचारिकता मात्र पूरा गर्ने र पढाइमा खास ध्यान नदिने गुनासा बारम्बार उठाइयो।

    प्रधानाध्यापक वीरेन्द्रप्रसाद यादवको प्रशासनिक नेतृत्व कमजोर भएको पनि अभिभावकहरूले औंल्याए। विद्यालय परिसर र कक्षाकोठा वरिपरि झारपातले ढाकेको, फोहर फैलिएको र वातावरण दूषित रहेको अभिभावकहरूको गुनासा थियो। लाखौं रुपैयाँ खर्च गरी बनाइएका खानेपानी ट्याङ्की र शौचालय प्रयोगमा नरहेको, धारा र नलहरू बिग्रिएको र चर्पी प्रयोगयोग्य नदेखिएको अभिभावकहरूले बताए। उनीहरूको भनाइमा यस्तो दुर्गन्धित र अस्वस्थ वातावरणमा अध्ययनरत विद्यार्थीहरू रोगको जोखिममा छन्।
    विद्यालयका तत्कालीन प्रअ भरतप्रसाद साहमाथि आर्थिक अनियमितताको आरोप लागेपछि उनलाई प्रअको जिम्मेवारी खोसेर छानबिनको छिनोफानो नहुनु जेलसम्मको लागि नगरपालिकाको कार्यालयमा हाजिर गर्ने गरी कारबाही गरिएको छ । त्यसपछि गोलबजार नगरपालिका वडा नं ११ का वडाध्यक्ष सोहेव अनवरको संयोजकत्वमा छानबिन समिति गठन भएको भए पनि समितिले अहिलेसम्म प्रतिवेदन नबुझाएको खेलकुद तथा शिक्षा शाखाका प्रमुख अनन्त कुमार पौड्यालले बताए । तर यता छानबिन समितिका संयोजक वडाध्यक्ष अनवरले आफू संयोजक रहेको छानबिन समितिले खेलकुद तथा शिक्षा शाखामा प्रतिवेदन बुझाइसकेको दाबी गरे ।

    भेलामा अभिभावकहरूले विगतका अनियमितता र व्यवस्थापनका कमजोरीबारे स्पष्टीकरण माग्दा प्रधानाध्यापक यादवले छानबिन समितिको प्रतिवेदन नआएकाले तत्काल विस्तृत जवाफ दिन नसक्ने बताए। उनले केही दिनमै आर्थिक तथा कार्यगत प्रगतिसहित अर्को बैठक बोलाउने प्रतिबद्धता जनाए।
    शिक्षा जस्तो पवित्र क्षेत्रप्रति यति स्तरको बेवास्ता समाजका लागि चिन्ताजनक बनेको अभिभावकहरूको टिप्पणी थियो। उनीहरूले विद्यालयको सुधारका लागि तत्काल ठोस कदम चाल्न सम्बन्धित निकायसँग माग गरे।
    यस्ता कुव्यवस्था र गैरजिम्मेवार व्यवहारकै कारण देशमा असन्तुष्टि बढ्दै गएको र युवापुस्ता विद्रोहमा उत्रनुपरेको प्रसंग अभिभावकहरूले जोडेर उल्लेख गरे। उनका अनुसार, शिक्षा प्रणालीमा सुधार ल्याउन नसके जेनजी आन्दोलन जस्ता जनचेतनाका स्वरहरू अझ प्रबल बन्ने खतरा छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ कार्तिक २१, शुक्रबार १४:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP