राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीच प्रस्तावित एकता प्रक्रिया अपेक्षाअनुसार अघि बढ्न सकेको छैन। एकता वार्ताको निर्णायक चरणमा संघीयता, धर्मनिरपेक्षता र समावेशिताका विषयमा स्पष्ट लिखित सहमति नजुट्दा प्रक्रिया ढिलाइ भएको हो।
एकता छलफलमा संलग्न स्रोतका अनुसार रास्वपाका सभापति रवि लामिछाने यी संवैधानिक र राजनीतिक आधारभूत विषयमा औपचारिक प्रतिबद्धता जनाउन हिच्किचाइरहेका देखिएका छन्। उज्यालो नेपाल पार्टीले भने एकताको न्यूनतम साझा आधारका रूपमा यी विषयलाई लिखित सहमतिमा स्पष्ट रूपमा समेट्नुपर्ने अडान लिँदै आएको छ।
छलफलमा सहभागी एक नेताले भने, “मौखिक छलफलमा धेरै कुरा उठ्छन्, तर कागजमा जाँदा संघीय संरचना, राज्यको धर्मनिरपेक्ष चरित्र र समावेशिताबारे स्पष्ट भाषा प्रयोग गर्ने कि नगर्ने भन्नेमा कुरा अड्किएको छ। यही कारण एकता प्रक्रियाले गति लिन सकेको छैन।”
रास्वपाभित्रै पनि यी विषयमा एकरूप धारणा नरहेको बताइन्छ। केही नेताहरू संविधानले तय गरेका व्यवस्थामा स्पष्ट पक्षधरता जनाउनुपर्ने मतमा छन् भने केही नेताहरू परम्परागत राजनीतिक एजेन्डाबाट अलग देखिनुपर्ने सोचमा छन्। यस्तो आन्तरिक मतभेदले पनि एकता वार्तालाई थप जटिल बनाएको स्रोतहरूको भनाइ छ।
उज्यालो नेपाल पार्टीका नेताहरू भने वैचारिक स्पष्टताबिनाको एकता दीर्घकालीन नहुने तर्क गर्दै आएका छन्। उनीहरूका अनुसार संघीयता, धर्मनिरपेक्षता र समावेशिता अहिलेको लोकतान्त्रिक अभ्यासका आधारस्तम्भ भएकाले यी विषयमा अस्पष्टता राखेर एकता सम्भव छैन।
यद्यपि दुवै दलबीच संवाद भने जारी छ। औपचारिक तथा अनौपचारिक छलफलका माध्यमबाट सहमति खोज्ने प्रयास भइरहेको नेताहरू बताउँछन्। तर नीतिगत विषयमा स्पष्ट लिखित सहमति नजुटेसम्म एकताको घोषणा तत्काल हुने अवस्था नरहेको संकेत देखिएको छ।
प्रतिक्रिया