संघीयताको जननी मधेश हो। संघीयता कसैको दया, माया वा सित्तैमा आएको व्यवस्था होइन। यो मधेशी जनताको रगत, बलिदान, कुर्बानी र लामो संघर्षबाट प्राप्त उपलब्धि हो। त्यसैले संघीयतालाई कमजोर पार्ने, मास्ने वा षड्यन्त्र गर्ने कुनै पनि प्रयासलाई मधेशी जनताले चुपचाप सहने छैनन्। आवश्यक परे फेरि बलिदान दिन मधेशी तयार छन्।
यही संघीयताबाट जन्मिएको राजनीतिक अवसर पाएका केही पात्रहरूले आफ्नो जीवनभरि मधेशी पहिचान स्वीकार गर्न सकेनन्। मधेशी शब्दलाई आत्मसम्मानमा चोट लाग्ने ठाने। पहिचान लुकाएर, थर ओझेलमा राखेर र मधेशका मुद्दाबाट दूरी बनाएर बिताएको जीवनले चुनावी मौसममा देखाएको मधेशप्रेम विश्वसनीय हुँदैन।
हुन त हरेक पार्टीमा मधेशी छन्। तर प्रश्न संख्याको होइन, निष्ठाको हो। धेरै मधेशी नेता मधेशको पक्षमा उभिनुभन्दा आफ्ना राजनीतिक मालिकलाई खुसी पार्नमै सीमित भए। मधेशको एजेन्डा होइन, चाकडी प्राथमिकता बन्यो। जसको थालमा खायो, त्यही थालमा प्वाल पार्ने यो प्रवृत्तिले मधेश बुझ्न सकेन, समृद्ध मधेशको सपना त झन् देखेन।
यसैको परिणाम आज मधेश शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा पछाडि परेको छ। यो कमजोरी होइन, चेतनाको अभाव होइन, यो मधेशी नाम बेचेर गरिएको स्वार्थी राजनीतिले जन्माएको यथार्थ हो।
मधेशबाटै प्रतिनिधित्व गरेर पनि मधेशीको पीडा अनुभूति गराउन नसक्नु राजनीतिक असफलता मात्र होइन, नैतिक पतन हो। प्रतिनिधित्व साहस बिना अर्थहीन हुन्छ। आफ्नै नेतृत्वसँग प्रश्न गर्न नसक्नेले मधेशको पक्षमा उभिन सक्दैन।
आज मधेशी जनता झुठा आश्वासनबाट भ्रमित हुने अवस्थामा छैनन्। कसले के गर्यो र कसले के गरेन, सबै छर्लङ्ग छ। नारा होइन, रोड म्याप खोजिन्छ। परिचय होइन, परिणाम मागिन्छ।
वास्तविक मधेशी उही हो, जसलाई आफूलाई मधेसिया भन्न गर्व हुन्छ, जसको छाती चौडा हुन्छ, र जो मधेशी भएकोमा लजाउँदैन। मधेश र मधेशी शरीर हुन्—अलग गर्न खोज्नु राजनीतिक छल मात्र हो।
हल्लाले अब देश चल्दैन।
कामले बोल्नुपर्छ।
मधेश र संघीयताको पक्षमा उभिने साहस जससँग छ, मधेशी त्यहीँ उभिनेछन्।
प्रतिक्रिया