मधेश प्रदेश सरकारको मन्त्रिपरिषद्ले गठन भएको करिब एक महिनापछि पूर्णता पाएको छ। बुधबार प्रदेश सरकारमा ६ जना मन्त्री थपिएसँगै मन्त्रिपरिषद् पूर्ण भएको हो।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरूलाई आजै शपथ खुवाउने तयारी गरिएको छ। सरकार गठनपछि केही मन्त्रालय खाली रहँदै आएका थिए।
नवनियुक्त मन्त्रीहरूमध्ये मनिष कुमार सुमनले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन्। राज कुमार गुप्तालाई भौतिक पूर्वाधार विकास मन्त्रालय, शङ्कर प्रसाद चौधरीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसैगरी श्याम प्रसाद पटेल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्वमा रहनेछन्। वसन्त कुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय दिइएको छ भने फकिरा महतोलाई गृह, सञ्चार तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ।
प्रदेश सरकारका अनुसार अब सबै मन्त्रालयमा मन्त्री नियुक्त भएसँगै नीतिगत निर्णय र कार्यान्वयन प्रक्रिया तीव्र बनाउने तयारी गरिएको छ। लामो समयदेखि मन्त्रिपरिषद् अपूर्ण रहँदा प्रदेश सरकारको कामकाज प्रभावित हुँदै आएको भन्दै आलोचना समेत भइरहेको थियो।
मन्त्रिपरिषद् पूर्ण भएसँगै अब मधेस प्रदेश सरकारबाट सेवा प्रवाह, विकास निर्माण र प्रशासनिक निर्णयहरूमा गति आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया