नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित समारोहमा शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
यसअघि आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथ ग्रहण कार्यक्रममा परम्पराअनुसार बटुकद्वारा स्वस्तिवाचन र लामाद्वारा मंगलवाचन गरिएको थियो।
नवनिर्मित मन्त्रिपरिषद्मा प्रधानमन्त्री बालेनले रक्षा तथा उद्योग मन्त्रालय आफैंसँग राखेका छन्। मन्त्रिपरिषद्को दोस्रो वरियतामा रहेका स्वर्णिम वाग्ले अर्थमन्त्री नियुक्त भएका छन् भने तेस्रो वरियताका सुधन गुरुङले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
यसैगरी, शिशिर खनाल परराष्ट्रमन्त्री बनेका छन्। सुनिल लम्सालले भौतिक पूर्वाधार तथा यातायातसँगै सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने विराजभक्त श्रेष्ठ ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री नियुक्त भएका छन्।
पर्यटन मन्त्रालयको नेतृत्व खड्कराज पौडेल (गनेश) ले सम्हाल्दा सस्मित पोखरेललाई शिक्षा, विज्ञान तथा प्रविधिसँगै युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ। निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्।
यसैगरी विक्रम तिमिल्सिना सञ्चारमन्त्री बनेका छन्। सामान्य प्रशासन मन्त्रालयमा प्रतिभा रावल नियुक्त हुँदा दीपक साहले श्रम मन्त्रालय र सोविता गौतमले कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्। सीता वादी महिला, बालबालिका मन्त्री बनेकी छन्।
नयाँ मन्त्रिपरिषद् गठनसँगै सरकारको कामकारबाही औपचारिक रूपमा सुरु भएको छ।
प्रतिक्रिया